Thu, 28 May, 2020

Nepali

दिदी म के लेखम?

09-Mar-2020

By Takdir Bartaula

 “दिदी म के लेखम?”, मेरो प्रश्न यही थियो जब दिदीले मलाई आउने हफ्ताको लागि केही लेख लेख्न भन्नु भयो । दिदीले भन्नु भयो,” केही लेखन तिमीलाई मनमा लागेको कुरा।” मैले पनि हवस् भने ।
घरमा आए, ओछ्यानमा पल्टिए र सोच्न थालेँ ,”के को बारेमा लेखम त?” मेरो यो सानो दिमाग चार चौरास घुमाए र अन्तिममा “जीवन”को बारेमा लेख्छु भन्ने सोचे र लेख्न थाले । लेख्छु त भने तर कहाँबाट सुरु गर्ने त ? सुरु नै गर्न आएन र सोचे जीवनको परिभाषाबाट नै सुरु गर्छु ।
“आखिर क हो त जीवन?”, मैले सोच्न थाले । कोही भन्छन् जीवन एक बलेको दियो हो, कति बेला निभ्छ ठेगान छैन त कोही भन्छन् जीवन बगिरहने सागर हो जो अविरल बगिरहन्छ । कोही भन्दा रहेछन् जीवन सुख र दुःखको सम्मिश्रण हो । मैले त यो पनि सुने कि जीवन काँडै काँडा बिचको फुल हो । तर मैले सोचे जीवन त मात्र तिन अक्षरको मिलन हो जसको बारेमा लेख्न गाह्रो छ । फेरी एकछिन सोचेँ र निर्णय गरे, अब चाहिँ म भगवानको बारेमा लेख्छु ।
म फेरी गहिरो सोचमा परेँ ,”आखिर भगवान् को हो त?” आज सम्म भगवान्‌लाई कसैले पनि देखेको छैन, भगवान् भनेको हरेक मान्छेको मनमा भएको एक अनौठो विश्वास हो जो कहिले पनि डगमगाउने छैन किनकि मान्छेले जीवनमा सबै कुरा गुमाए पनि मनमा आस चाहिँ कहिले पनि गुमाउँदैन र त्यो आस भनेको भगवान् माथिको विश्वास हो । आजसम्म मैले मानिसहरूले ढुङ्गालाई मात्र पुजेको देखेको छु, ढुङ्गालाई नै भेटी चढाएको देखेको छु । मानिसहरू पनि अचम्मका हुन्छन्, मन्दिर बाहिर खान नपाएका गरिबलाई चाहिँ हेँला गर्छन् र भित्र ढुङ्गालाई चाहिँ पैसा चढाउँछन् , म सोच्छु यदि त्यो पैसा एत्तिकैमा फाल्नु भन्दा एउटा गरिबलाई पेट भरी खाना खान दिएको भए साएद त्यो मान्छेले पुन्य कमाउथ्यो होला । अब के लेख्ने त भगवान्‌को बारेमा, अरू त केही थाहा नै छैन ।
यो भगवान्‌को बारेमा त झन् के लेख्ने कति लेख्ने केही थाहा भएन, होइन अरू नै केहीको बारेमा लेख्नु पर्‍यो र म फेरी के को बारेमा लेख्ने भनेर सोच्न थाले, एक मनमा लग्यो कि दिदीले यसको बारेमा लेख भन्नु भएको भए लेख्थे होला तर अर्को मनले सोच्यो यदि मलाई दिदीले दिनुभएको कुरा लेखन नआएको भए, आ बरु जेको बारेमा नि लेखे हुन्छ क्यारे, जेको बारेमा भए नि अलिकति लेखेर दिनु पर्‍यो । तर लेख्ने  चाहिँ केको बारेमा , म एक छिन घोत्लिएँ र सोचेँ अब चाहिँ म आफ्नै बारेमा लेख्छु
मेरो नाम तकदिर बर्तौला हो । मेरो घर हेटौँडा हो । म अहिले काठमाडौँमा बस्छु । मन्दिर नै मन्दिरको सहर भनेर चिनिने काठमाडौँमा रहेको सुप्रसिद्ध मन्दिर श्री पशुपतिनाथको मुख्य मन्दिर भित्र रहेको विरूपाक्ष्य मूर्ती छुन त दिँदैनन् तर छुन मिल्ने भएको भए त्यो मूर्तीलाई छोएर कसम खान्थे मलाई आफ्नै बारेमा नि लेख्न आएन । “हे भगवान् यस्तो पाराले म के चाहिँ बन्छु होला जिन्दगीमा ?”, आफैँले आफैँलाई प्रश्न गरेँ अनि के के कुरा मनमा खेलाउदैँ थिएँ भुसुक्कै निदाएछु । भोलिपल्ट बिहानै उठेँ अनि कलेज गएँ र कलेज जाने बित्तिकै दिदीलाई भेटे र सोधेँ : “दिदी म के लेखम?”

0 Comments