Nepali
आमाको सपना
12-Nov-2018

हे आमा गर मलाई क्षमा
अपुरै छन् तिम्रा ती इच्छा
सकिन गर्न तिम्रो जन्मभूमिको रक्षा
नसकेँ पुरा गर्न तिमीलाई दिएको प्रतिज्ञा
हाँसो ल्याउछु भनेकी थिए सबैको ओठमा
सकिन हत्या र हिंसाको यो युद्ध रोक्न
रित्तो हाँसो हाँसी रमाउन खोज्छु म
विशाल भिडमा हराइ रहेकी छु म
आफ्नै शून्यतामा रमाइ रहेकी छु म
शून्यताको विन्दु भइ टोलाएकी छु म
तिम्री छोरी यो भिडमा लाटिएकी छ
विशाल नगरीमा भित्रभित्रै आत्तिएकी छ
तिम्री हँसिली प्यारी छोरी
शहरी गोरीसँग साटिएकी छ
सुन्दैछु तिमी चिन्तित छौ रे
बन्दुक र बारुद होमिएको नियाली रहेकी छ्यौ रे
हाँसो र खुसीको खोजीमा भौतारिएकी छ्यौ रे
निस्पट्ट अँध्यारो पछिको प्रकाश खोजिरहेकी छ्यौ रे
एउटै छ मेरो चहाना र संकल्प
अब आमाको इच्छा पुरा गर्ने धोको छ
जन्मभूमिको ऋण ब्याज सहित तिर्नु छ
हातमा हात राखी हातेमालो गर्नु छ
आरुको ओठमा मुस्कान छरी
दिएका तिम्रा ती प्रतिज्ञा पुरा गर्नु छ
Total Views: 0