लेख्न गार्हो छ, तर रमाइलो पनि

in the school
२०७३ साल, वैशाख १ गतेका दिनबाट डि.डब्लु.आइ.टी. न्युज नेपाली संस्करणको श्रीगणेश गरिएको थियो। आफ्नो मातृ भाषालाई माया गर्नु पर्छ भन्ने हेतुले डि.डब्लु.आइ.टी. न्युज नेपाली संस्करणमा पनि प्रकाशित गर्ने निर्णय भएको थियो। यसभन्दा पहिले डि.डब्लु.आइ.टी. न्युज क्लबको नाममा अङ्ग्रेजी समाचार  मात्र प्रकाशित हुने गर्दथ्यो भने अहिले डि.डब्लु.आइ.टी न्युज निजी कम्पनीको रूपमा आबद्ध भएको छ र त्यसका साथ साथै नेपाली लेखहरू पनि प्रकाशित गर्दै आइरहेको छ ।

 

नेपली संस्करणमा अहिले जम्मा ४ जना लेखकहरू छौँ। सबै जना डि.डब्लु.आइ.टी. कलेजकै विद्यार्थी हौँ। कलेजका, समाजका र देश विदेशका समाचारहरू अङ्ग्रेजी संस्करणमै समावेश हुने भएकाले, नेपाली संस्करणमा कथा, कविता, गजल, मुक्तक, निबन्ध जस्ता साहित्यिक र रचनात्मक लेखहरू प्रकाशित हुने गर्दछन्। पाक्षिक रूपमा प्रकाशित हुने नेपली लेखहरू यिनै ४ जना लेखकहरूले लेखेका हुन्छन् भने कहिले काँही छुटफुट रूपमा अतिथि लेखकका लेखहरूका लेख पनि प्रकाशित गरिन्छन्। हामीले लेखेका नेपाली लेखहरू सरोज ढकालले सम्पादन गरिदिनु हुन्छ। उहाँलाई नेपली भाषाको राम्रो ज्ञान भएका कारणले उहाँलाई सम्पादनको जिम्मेवारी दिइएको हो।

 

शीर्षकमा भनिए झैँ लेख्न बहुतै गाह्रो हुने गर्दछ।लेख बुझाउनु पर्ने एक हप्ता अगावै छट्पटी सुरु हुन्छ। सुरुवातमा “के लेख्ने ?” त्यसमै मन दोधार हुने गर्दछ। मनमा कुरा खेल्दछन् “कथा लेखौँ ? कि कविता लेखौँ ? हैन एउटा राम्रो निबन्ध लेख्छु ? अहँ ! हुँदैन अस्ति भर्खरै निबन्ध लेखेको, फेरि किन लेख्नु ? यसपटक अलि भिन्न किसिमको लेख लेख्नु पर्ला।” भिन्न किसिमको लेखका लागि विषय वस्तु खोज्दा खोज्दै दुई दिन बित्छ। मगजमा फ्याट्टै केही आयो भने त ठिकै हो, अन्यथा पहिलो कुरा सहसम्पादकलाई नै गुहार्न जानु पर्ने हुन्छ। थोरै भए पनि दिमागको बत्ती बल्छ ।

 

शब्द चयन, ब्याकरण, ह्रस्व दीर्घको थोरै ज्ञानले लेख लेखाइका क्रममा धेरै नै त्रुटीहरू हुने गर्दछन्।अझ कम्पुटरमा नेपली टाइप गर्नको अप्ठेरोले अर्को तगारो थपिदिन्छ। नेपली शब्दकोश, गुगल ट्रान्सलेट र गुगल इन्पुट टुलको थोर बहुत सहायताले आउँदो संस्करणको लागि लेख पुरा हुन्छ। जब जसो तसो त्यस तगारो पार गरिन्छ, मस्तिष्कमा अर्को कुरो खेल्न थाल्दछ, “के मेरो यसपटककको लेख पाठक वर्गलाई मन पर्ला ? कति प्रभाव पर्ला ? हिट होला त ?” यस्तै यस्तै कुराले मनमा डेरा जमाउँछन्।
जब आफूले लेखेका लेखहरू अनलाइन हुन्छन्, पहिले त लिङ्कलाई आफ्नो फेसबुकका भित्तामा “पढिदिनुस् है। ” भनेर पोस्टगर्ने काम हुन्छ। त्यस पछि, साथीहरूलाई एक एक गर्दै लिङ्क सेयर हुन्छन्। आफूले लेखेका लेखहरू अरूले पढ्दा, मन निकै हर्षित हुने गर्दछ। लेख्न जति दुःख गरियो, सबै दुःख भुलिन्छ र मन चङ्गा झैँ प्रशन्नताको हावामा कावा खाँदै तैरिन्छ । भन्न मन लाग्छ “सङ्घर्ष वास्तविक थियो तर यो उचित पनि थियो”

 

लेखमा पाठक वर्गको प्रतिक्रियाले ठुलो भूमिका खेल्ने गर्दछ। “वाह वाही” पाउँदा शिखरको चुचुरोमा पुगेझैँ आभास हुन्छ भने, नराम्रो प्रतिक्रिया पाउँदा, अर्को पटक अझ सुधारेर अझ राम्रो लेख लेख्ने प्रेरणा मिल्दछ। नेपाली लेख लेखेर धेरै कुरा सिकिन्छ। शब्दकोष हेर्दै गर्दा केही नयाँ नेपाली शब्द र त्यसको अर्थ जानिन्छ। अङ्ग्रेजीमा प्रयोगमा रहेको र प्रयोग गरी रहेको शब्दलाई नेपलीमा अर्थ्याउन जानिन्छ। मजाले नेपाली लेख्न र पढ्न सकिन्छ।

 

पाठक वर्गलाई त लाग्ला, “१५ -१५ दिन पिच्छे लेख प्रकाशित हुन्छ, त्यही पनि कति थोरै लेख? जम्मा ४ वटा मात्रै?” हो, नेपली संस्करणमा अहिले थोरै लेखहरू प्रकाशित हुन्छन् । यसको मुख्य कारण भनेकै लेखक तथा सम्पादकको कमी हो। यदि तपाईँ यो लेख पढ्दै हुनुहुन्छ र तपाईँ नेपली संस्करणमा लेखक बन्न चाहनुहुन्छ भने डि.डब्लु.आइ.टी. न्युजको ढोका सदैव खुला रहनेछ।

 

 “हामीले हाम्रो मातृ भाषालाई माया गर्‍यौँ भने मात्र हाम्रो देशको विकास हुन्छ।” – रुद्र पाण्डे