मीरा राई – नेसनल जियोग्राफिक एड्भेन्चरर अफ द इएर

मीरा राई
तस्वीर: द हिमालयन टाईम्स 

भोजपुरको अग्लो हिमाली क्षेत्रमा खेती किसानी गर्ने परिवारमा जन्मिएकी थिइन मीरा राई । बाल्यकालमा उनी पनि अरू कैयौँ नेपाली ग्रामीण बालबालिका झैँ बाख्रा चराउँथिन्, दाउरा खोज्थिन्, ४० किलोको धानको भारी अनि पानी बोकेर हिमाली अप्ठेरा बाटामा ओहोरदोहोर समेत गर्थिन् ।

आफ्नो जीवनस्तरको राम्रो हुने विश्वास उनी गर्थिन् तर गाउँघरमा त्यसको कुनै सम्भावना थिएन । अझ युवतीका लागि त त्यस्ता सम्भावनाहरूको खोजी गर्नु भनेको मुर्खताको विषय हुन्थ्यो । तसर्थ उनले १२ वर्षको उमेरमा स्कुल छाडिन् ।

सानैदेखि आफ्नो जीवनस्तर उकास्ने अवसरहरूको खोजीमा रहेकी मीरा १४ वर्ष कै उमेरमा माओवादी छापामार बन्न पुगिन् । उनले माओवादीमा रहेर छापामारको तालिम पनि लिइन् र दुई वर्ष माओवादीको क्याटोनमेन्टमा बिताएपछि लडाकु समायोजनको प्रक्रिया सुरु भयो तर उनी भने अयोग्य लडाकु घोषित भइन् । अयोग्य लडाकु घोषित भएपछि उनलाई पुनः गाउँमा पुनर्स्थापित हुन सहज थिएन, त्यसैले उनी अवसरको खोजीमा लागिन् ।

दुई वर्ष माओवादीको शिविरमा बिताउदा त्यहाँका कराँते प्रशिक्षक मीराको प्रतिभाका बारेमा जानकार थिए । सोही कराँते प्रशिक्षकले मीरालाई  अन्य कराँते खेलाडी तथा प्रशिक्षकहरूसँग उनको परिचय गराइदिएका थिए र त्यही परिचयले मीरालाई काठमाडौँसम्म पुग्ने वातावरण तयार गर्‍यो ।

पैसा कमाउने र आफ्नो जीवनस्तर राम्रो बनाउने अवसरको खोजीमा मीरा काठमाडौँ त आइन् तर उनले कुनै पनि काम पाउन सकिनन् । काम पाउन नसके पछि बिस्तारै उनको आत्मविश्वास र पैसा क्षीण भैसकेको थियो तब उनले एउटा ठुलो दौड प्रतियोगितामा सहभागी हुने अवसर पाइन् । यो भन्दा पहिले उनले कहिल्यै पनि दौड प्रतियोगितामा भाग लिएकी थिइनन् ।

अरू सहभागीहरूजस्तो दौडमा सहभागी हुँदा उनीसँग न त पानी थियो न त खाना नै । ३१ माइल अर्थात् ४९.८८ कि. मी. लामो दौडको बाटो असिना र पानीका कारण हिलैहिलो थियो । सबैभन्दा बढी दुरीको र कठिन दौडमा सहभागी भएको त्यो मीराको पहिलो अवसर थियो र उनी निकै थाकेकी थिइन् । तर, त्यो प्रतियोगिता पूरा गर्ने सफल पहिलो महिला मीरा नै भइन् ।

“पहिलो पटक सहभागिता जनाएको दौडको बाटो उनको लागि एकदमै कठिन थियो । जब उनले त्यो दौड सफलताका साथ पूरा गरिन् उनमा केही त खास छ भन्ने मलाई लाग्यो,” नेपाली धावकहरूलाई सहयोग गर्ने एवं ट्रेल रेसको आयोजना गर्ने संस्था ट्रेल रनिङ नेपालका ब्रिटिस सह–संस्थापक रिचार्ड बुलले भन्नुभयो । पछि उनले नै राईलाई बस्ने, खाने, भिसा र दौडिने अवसरहरू प्रदान गरे । महिलाहरूले कहिल्यै पनि खेल खेल्न नपाउने ठाउँबाट आएकी मीरा भर्खरै २७ वर्षकी थिइन र उनले त्यसको अर्को वर्ष सबै अपेक्षाहरू पूरा गरिदिईन् ।

सन् २०१५ मा उनी अस्ट्रेलिया र युरोपमा आयोजना भएको अन्तर्राष्ट्रिय दौडमा एउटा प्रशंसनीय पुरस्कार स्वरूपमा स्काइ रनिङ च्याम्पियनसिपको दोस्रो स्थान हात पार्न सफल भइन् । सन् २०१६ मा पनि उनले दौडमा नै  निरन्तरता दिइरहने घोषणा गरेकी थिइन् तर, उनी दौड प्रतियोगितामा भाग लिने क्रममा उनी चोटग्रस्त भइन् र उनको सर्जरी नै गराउनुपरेको थियो । आफू दौडन नसकेपछि उनले अरूलाई दौडका लागि प्रोत्साहन दिन थालिन् ।

अरूलाई दौडन प्रोत्साहन गर्दै उनले आफ्नै गाउँमा एउटा दौड प्रतियोगिताको आयोजना गरिन् र जुत्ता नभएका बालबालिकाहरूका लागि ९० जोर जुत्ता पनि किनिदिइन् । उनले दाताहरूमार्फत पैसाको जोरजाम गर्ने काम गरिन् । इटालीको एक दौड प्रतियोगितामा उनले पास्ता बेच्ने काम पनि गरिन र उनको आफ्नै जीवन यात्रामाथि बनाइएको वृत्तचित्र “मीरा – अ स्टोरी अफ् ए नेपाली भिलेज गर्ल” फिल्म फेस्टिबलमा फाइनलिस्ट बन्न पुगेकोमा च्यारिटी प्रदर्शन गरिन् ।

२६ जुन २०१५ मा फ्रान्समा सम्पन्न भएको ८० किलोमिटर दूरीको अल्ट्रा म्याराथनको विश्व च्याम्पियन प्रतियोगितामा  १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण जितेपछि मीरा राईको चर्चा विश्वभर चुलियो । सन् २०१६ को सुरुवातमा उनले इटालीमा सम्पन्न भएको स्काइ रनिङ अल्ट्रा रेसमा दोस्रो स्थान हासिल गर्न सफल भएकी थिइन् जसका कारण उनी विश्वको दोस्रो वरियतामा उक्लन सफल भइन । मीराले हङकङमा आयोजना गरिएको ५० किलोमिटरको एसियन च्याम्पिनसीप पनि जितिन् भने सन् २०१४ मा इटालीमा आयोजित गरिएको ५० किलोमिटर अल्ट्रा म्याराथनमा पनि प्रथम हुन सफल भएकी थिइन । यसै गरी नर्वेमा भएको ८० किलोमिटरको अल्ट्रा म्याराथनको प्रथम पुरस्कार पनि उनले नै जितेकी थिइन् ।

यसबाहेक पनि उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा जित हासिल गर्दै आएकी छिन् । छोटो समयमा नै नेपाल कै पहिलो व्यावसायिक अल्ट्रा धावक बन्न सफल मीरा राईको उदय तीव्र गतिमा भएको छ ।

निम्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आयोजना भएका अल्ट्रा म्याराथनहरूमा मीरा राईले उल्लेख्य उपलब्धिहरू हासिल गरेकी छिन्:

2016 30.04 3 Peaks Race 2nd
2015 19.09 Ultra Pirineu 2nd
2015 28.08 SANTA CATERINA VERTICAL KILOMETER 4th
2015 02.07 Tromso Skyrace 45km 2nd
2015 19.07 Dolomites Skyrace 22km 13th
2015 04.07 Barro Sky Night 18km 1st
2015 26.04 Mont-Blanc 80KM 1st (new record)
2015 12.04 Buffalo Stampede Skyrunning 42km 3rd (42km 4:52)
2015 21.03 Himalayan Outdoor Festival 50km 1st
2015 07.02 MSIG HK50 Sai Kung – Asia Skyrunning Championship 50km 1st
2015 01.02 King of the Hills 1st
2015 03.01 The North Face Kathmandu Ultra 50km 1st
2014 07.12 MSIG Lantau 50 – HK 50 Series 50km 2nd
2014 05.12 HK MSIG Vertical Kilometer 1st
2014 28.11 KOTH 2nd (lost!)
2014 8.10 Manaslu Trail Race 1st
2014 26.10 MSIG HK 50km 1st (5:30:32 5th overall)
2014 28.09 Trail Degli Eroi (83km) 1st (9:16)
2014 13.09 Sellaronda Trail Race (57km) 1st (6:36:30)
2014 21.04 Mustang Trail Race 1st
2014 23.03 Himalayan Outdoor Festival 50km 1st