डियरवाक टिचिङ फेलो शंखर कोइरालासँग कुराकानी

डि.डव्लु.आइ.टि.

 

भनिन्छ….

न चोरले चोर्छ, न राजाले हर्छ

न अंश लाग्छ, भारि हुन्छ

जति बाढ्यो, उति नै बढ्छ

यही कारण विद्यालाई सबैभन्दा ठुलो धन मान्ने र जति बाढ्यो त्यति बढ्नेमा सबै विश्वास्थ छन् ।

हो, यही यथार्थलाई अँगाल्दै गत वर्ष डि.डव्लु.आइ.टि. बाट आफ्नो स्नातक उत्रिण गरेका ४ जना विद्यार्थीहरु स्याङ्जाको विकट गाउँहरुलाई आफ्नो गन्तव्य बनाई विद्या बाड्न निस्किएका थिए । शहरको सुख, मोह र मायालाई केहि महिनाको लागि त्याग्ने प्रण गर्दै , विभिन्न विकट गाउँका विद्यालयहरूमा पठन-पाठनका साथै अन्य कम्प्युटर सम्बन्धित कुराहरूमा सहयोग पुराउने आठोटका साथ आफ्नो यात्रा सुरु गर्नेहरु थिए: अनिल श्रेष्ठ, प्रतिव आचार्य, भावना दाहाल र शंखर कोइराला ।

यसै बिषयलाई मध्यनजर गर्दै, शंखर कोइरालासँग गरिएको कुराकानी जस्ताको त्यस्तै प्रस्तुत छ :

पत्रकार : तपाईँको यात्रा कहिले, अनि कहाँबाट सुरु भयो?

कोइराला : हामी चैत्र २४ गते डि.डव्लु.आइ.टि. बाट पुग्नु पर्ने स्याङ्जाको गाउँतर्फ लागेका थियौँ  ।

पत्रकार : अनि पहिला त्यहाँ कुन ठाउँमा गएर तपाईँले सेवा सुरु गर्नु भयो त ?

कोइराला : पहिलो महिना चाहिँ आरुचौर, स्याङ्जाको सर्बोदय उच्च माध्यामिक विद्यालयमा सेवा गर्यौं  ।

पत्रकार : अनि तपाईहरु त्यहाँ पुग्दा त्यहाको अवस्था कस्तो थियो?

कोइराला : आरुचौर को सर्बोदय उच्च माध्यामिक विद्यालयमा कक्षा ८ सम्म मात्र कम्प्युटर पढाई हुदो रहेछ । अनि कक्षा ९ र १० लाई चाहिँ पढाउने पर्याप्त रिसोर्सेसहरु नभएर पढाउन नसकिएको रहेछ । कक्षा ९ र १० मा हुने क्यु-वेसिक, एच. टि.एम. एल. र माइक्रोसफ्ट डाटावेस हामीले सिकाईदियौँ  । अनि खाली समयमा चाहिँ हामीले शिक्षकहरुलाई सुरुवातबाट कम्प्युटर चलाउन सिकायौँ  । अनि त्यहीँ समयमा कक्षा ११ र १२ को विद्यार्थीहरूले पनि सिक्ने इक्ष्य देखाएपछि हामीले दिनमा एक-एक घण्टाको समय मिलाएर उनीहरूलाई पनि पढाएका थियौँ ।

पत्रकार : अनि त्यस पछाडिको यात्रा कस्तो रह्यो त ?

कोइराला :  त्यस पछि हामी दरौ भन्ने ठाउको दरौ उच्च माध्यामिक विद्यालयमा गयौँ । हामीले त्यहाँ कक्षा ६, ७ र ८ लाई कम्प्युटरको सुरुवाती ज्ञान दियौं र कक्षा ९ र १० लाई क्यु-वेसिक र माइक्रोसफ्ट डाटावेस पूर्ण रुपले पढाएर सक्कायौँ, तथा  हामीले त्यहाँको शिक्षकहरुलाई कसरी पढाउने भनेर तालिम पनि दिएका थियौँ  ।

पत्रकार : अनि तपाईँहरूको खाने बस्ने व्यवस्था कस्तो थियो? सोच्नु भएको अनुसारको थियो कि, थिएन?

कोइराला : अब भ्याली भित्र बसेको मान्छे पहिलो पल्ट त्यस्तो गाउँमा जाँदा चाहिँ अब सोचेको जस्तो हुँदैन रहेछ । म चाहिँ पहिला पनि गाउँमा बसेको हुनाले अब गाउँले जीवनको बारेमा ज्ञान थियो । अब खाने कुराहरू पनि सीमित हुने हुनाले सुरु-सुरुमा गाह्रो नै भएको थियो । हामीले पहिलो महिना चाहिँ खान बस्ननै गाह्रो नै भएको थियो । पहिलो महिना चाहिँ हामी स्कुलमा नै बसेको  थियौँ । अनि खानामा चाहिँ पुरा महिना नै बन्दा र भात मात्र खायौँ, अनि राति बस्नको लागि एउटा गुन्द्री र एउटा पातलो सिरक मात्र थियो । त्यो समयमा चाहिँ  हामीलाई अलि गाह्रो भएको थियो । तर अर्को महिना दरौमा चाहिँ स्कुलले नै खाने बस्ने व्यवस्था मिलाईदिएको हुनाले सजिलो भएको थियो ।

पत्रकार : तपाईँले त्यो २ महिनामा के कति कुरा पाउनु भयो, अनि के कति कुरा गुमाउनु भयो ?

कोइराला : (हाहा …) धेरै कुरा पाइयो, अनि गुमाउन पनि गुमाइयो । अब के पाइयो भन्दा भित्री मनबाटै इक्ष्या भएर गएका हो भने चाहिँ खुसी पाईन्थ्यो, अनि त्यो खुसी महसुस गरेँ मैले । मैले यस्तो ठाउँमा आएर यति धेरै मान्छेहरूलाई केही त सिकाउन पाए भन्ने कुरामा खुसी लाग्छ । साथै यो कुरा चाहिँ जहाँ गएर जो मान्छेलाई पनि सुनाउनमिल्छ, त्यसैले गर्व महसुसहुन्छ । अनि अर्को पाएको कुरा भनेको चाहिँ अनुभव नै हो । अब कस्तो हुन्छ भने, हाम्रो स्तरको मान्छेलाई हामीले जानेको कुराहरू सिकाउन सजिलो हुन्छ तर केही पनि नजानेको मान्छेहरूलाई कसरी सिकाउने भन्ने कुराको अनुभव भयो ।

डि.डव्लु.आइ.टि.

शंखर कोइराला विद्यार्थीहरुलाई पढाउँदै

पत्रकार : पाएको कुरा त थाहा पाए तर तपाईँले के के गुमाउनुपरेको थियो, त्यो पनि भन्दिनुस् न ।

कोइराला : खासमा के भएको थियो भने म स्याङ्जा जानु भन्दा १ महिना अगाडी देखि पोल्याण्डको एउटा कम्पनीमार्फत फ्री-ल्यांसिंग गर्न थालेको थिएं । अनि विजय सरले चाहिँ हामीलाई त्यहाँ गाउँमै पनि इन्टरनेट भएको र हाम्रो स्काइपमा कुरा हुनसक्ने भन्नुभएको थियो । अनि मैले पनि म गाउँबाट पनि उता पोल्याण्डको काम गर्छु भन्ने सोचेर गए तर त्यहाँ जाँदा इन्टरनेट  त टाढाको कुरा मोबाइलको टावर पनि टिप्दैन थियो । अनि त्यस कारणले मैले आफ्नो काम गुमाउनुपरेको थियो ।

पत्रकार : अनि मन बाट गर्दा खुसी हुन्छ भन्नुभयो, कलेजले २ महिनाको ठाउँमा ३ महिना बनाइदिएको भए म अझै सहयोग गर्थे भन्ने लागेको थियो कि नाइ ?

कोइराला : अब तेती नै बेला चाहिँ मेरो पनि मिलेन तर मिलेको भए म ३ महिना पनि सहयोग गर्न तयार थिए । तर मैले वैशाख जेष्ठमा जुन कक्षा १० का विद्यार्थीहरूलाई पढाएको थिए, पछि एस. एल. सी. आउनु भन्दा १ हप्ताअगाडी गएर फेरी पनि पढाएको थिए ।

पत्रकार : अबको आउने पिढीले पनि यो रितलाई सम्हालेर अगाडी बढाउने छन् । तपाईँलाई उनीहरूको लागि केही भन्नु छ ?

कोइराला : अब हामीले सानो कुरा सिकेउ भने पनि, नआउनेका लागि त्यहि ठुलो हुन सक्छ । त्यसैले ज्ञानगुनका कुराहरू बाढौ ।  अनि, यदि कसैको घरमा प्रयोगमा नभएको तर चल्ने कम्प्युटरहरू छन् भने चाहिँ त्यस्तो कम्प्युटरहरू स्कुलहरुमा सहयोग गरिदिनु होला भन्न चाहन्छु ।

(अहिले उहाँ डियरवाक टिम प्लान एनालाइटीक्समा काम गर्दै हुनुहुन्छ ।)